काठमाडौँ- पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा राख्न दोस्रोपटक म्याद दिएपछि उनका कानुन व्यवसायीले मंगलबार साँझ पत्रकार सम्मेलन गरेका छन्।
पत्रकार सम्मेलनमा रवि लामिछाने आबद्ध न्युज ट्वेन्टी फोरका प्रतिनिधि र रविका आफन्तको पनि उपस्थिति थियो। रविका कानुन व्यवसायी सुशील पन्तले अदालतभित्र पत्रकारलाई निषेध गरेकाले पत्रकार सम्मेलन गर्नुपरेको बताए।
‘तपाईहरुभित्र गएर रिपोर्टिङ गर्न पाउनु भएको थियो भने आज के भयो भन्नेबारे हामी यहाँ यसरी प्रस्तुत हुनुपर्ने जरुरत नै थिएन’, पन्तले भने, ‘यसअघि पहिलोपटक म्याद दिदा बयान गर्नुपर्ने भएकाले आवश्यक भएको बताइएको थियो। आज भिसेरा रिपोर्ट, मोबाइलका सामग्रीको डिजिटलाइजेसन, दीपक बोहराको बयानलगायत काम बाँकी रहेकाले थप समय प्रहरीले मागेको थियो।’ पत्रकार सम्मेलनमा अर्का कानुन व्यवसायी सुनिल पोखरेलको पनि उपस्थिति रहेको थियो। पोखरेलले कुनै पनि कारणले लामिछाने र कँडेललाई नियन्त्रणमा लिनुको तुक नरहेको दावी गरे।
रविसहित तीन जनालाई साउन ३० गते पक्राउ गरी भोलिपल्ट पाँच दिनको म्याद थपिएको थियो। शालिकराम पुडासैनीले साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए। नुवाकोट निवासी पुडासैनीले आत्महत्या अघि रेकर्ड गरिएको भनिएको भिडियोमा आफुलाई रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले मर्न बाध्य बनाएको बताएका थिए।