Monday , October 14 2019
Home / अन्तर्वार्ता / कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्याः पुरुषत्वप्रतिकै चरम घृणा (भिडियोसहित)

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्याः पुरुषत्वप्रतिकै चरम घृणा (भिडियोसहित)

कञ्चनपुरको भिमदत्तनगर–२ उल्टाखामकी कक्षा नौ अध्ययनरत १३ वर्षीया निर्मला पन्त गत बिहीबार खाना खाएर घरबाट निस्किइन् । उनी आफ्नै कक्षाकी साथीको घरमा सँगै पढ्नको लागि निस्किएकी थिइन् । उनको घरभन्दा करिब २ किलोमिटरको दूरीमा साथीको घर छ ।

साथीकोमा करिब ३ घण्टा जति पढेर उनी घर फर्किइन । साइकलमा १० देखि १५ मिनेटको दुरीमा रहेको घरमा निर्मला साँझ पर्दासम्म पुगिनन् । साँझसम्म पनि छोरी घर नआएपछि परिवारका सदस्यमा बैचैनी भयो । उनका साथीभाइ, छरछिमेक र आफन्तकोमा खबर भयो । निर्मला कहीँ कतै भेटिनन् ।

छोरी नभेटिएपछि बालिका हराएको भन्दै प्रहरीको उजुरी प¥यो । त्यो रात परिवारको लागि सकसमा नै बित्यो । बिहानदेखि नै प्रहरी खोजीमा जुट्यो । बिहानै एउटा दुःखद खबर आयो । निर्मलाको शव घरभन्दा केही पर उखुबारीमा भेटियो । चोट लागेको शरीर अर्धनग्न अवस्थामा थियो । गुप्ताङबाट रगतसमेत बगिरहेको थियो ।

बलात्कारपछि निर्मलाको हत्या गरिएको आशंकापछि स्थानीय दोषी पत्ता लगाएर कारवाही हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिए । परिवारले हत्यारालाई कारवाही नभएसम्म शव नबुझ्ने अडान लिएपछि आन्दोलन झनै चर्कियो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शनिबार पीडित पक्ष, जनप्रतिनिधी र प्रहरी प्रशासनबीच तीन बुँदे सहमती भयो । सहमतीपछि पीडित परिवारले दाहसंस्कार गर्न सहमती जनाए ।

तर, स्थानीयले लिखित सहमती गर्दैमा सुरक्षाको ग्यारेन्टी नहुने भन्दै दोषीलाई सार्वजनिक नगरुन्जेलसम्म दाहसंस्कार नगर्न पीडित पक्षलाई दवाव दिए । प्रहरीले घटनाको अनुसन्धान गर्न कुनै कसर बाँकी नराखी सत्यतथ्य रुपमा अनुसन्धान गर्ने र दोषीलाई हदैसम्मको सजाय गर्ने प्रतिबद्धता जनाएपछि मृतकका परिवार र आफन्त निर्मलाको दाहसंस्कार गर्न तयार भए । र, हत्या भएको पाँच दिनपछि सोमबार निर्मलाको दाहसंस्कार गरियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी निरीक्षक टेकेन्द्र खड्काको नेतृत्वमा सात सदस्यीय छानबिन समिति बनाएको छ । यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली पनि घटना अनुसन्धानका लागि महेन्द्रनगर पुगेको छ । परिवारका सदस्य, आफन्त र स्थानीयले बलात्कारपछि निर्मलाको हत्या भएको दावी गरिरहँदा प्रहरी भने हत्यारासम्म पुग्न सकेको छैन ।

प्रहरीले शुक्रबार बिहान खोजतलास गर्ने क्रममा एक जना शंकास्पद युवकलाई पक्राउ परेको छ । घटनापछि आक्रोशित स्थानीयले हत्याराको पहिचान र कारवाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् । कञ्चनपुरमा दुईसाता अघि पनि कृष्णपुरमा १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको थियो । एकपछि अर्को पासविक घटनाका कारण स्थानीयमा त्रास र आक्रोश बढिरहेको छ ।

 किन वलात्कार गर्न अग्रसर हुन्छ मानिस ?

पछिल्लो समय समाजमा बलात्कारका विभत्स घटना घटिरहेका छन् । दिनहुँ रेडियो टीभी तथा पत्रपत्रिकामा बलात्कारका घटनाको खबर सुनिन्छ, देखिन्छ । केही वर्ष यता नाबालिकामाथि सामूहिक बलात्कारका घटनासमेत देखा पर्न थालेका छन् । यो निकै चिन्ताको विषय हो ।

बलात्कारका कतिपय घटना त यति विभत्स हुन्छन् कि सुन्दा पनि आङ जिरिंग हुन्छ, मुटु काप्छ । कञ्चनपुरको यो घटना पनि त्यस्तै प्रकृतिको छ । तर हाम्रो समाजमा बलात्कारका अधिकांश घटना समाजमा बेइज्जती हुने डरले स्वयं पीडित र उनका परिवारले लुकाउने गर्छन् । यो घटना परिघटनाका वीच समाजमा यसले गम्भीर प्रश्नहरु खडा गरेको छ । विशेषगरी समाजमा किन बलात्कारका घटनाले प्रश्रय पाइरहेको छ र मानिस बलात्कार जस्तो जघन्य अपराध गर्न किन अग्रसर हुन्छ भन्ने विषयलाई राम्रोसंग निक्र्यौल गर्न जरुरी छ ।

समाजशास्त्रीय दृष्टिकोणले हेर्दा बलात्कार जघन्य अपराधसँगै अस्वस्थ समाजका कारण समाजले नै ब्यहोरिरहेको दुषित परिणाम हो । महिलालाई हेर्न नकारात्मक दृष्टिकोण, जहाँ महिलालाई जे गर्दा पनि हुन्छ भन्ने मानसिकताले बलात्कारका घटना हुने मानसिक रोग विशेषज्ञको बुझाइ छ ।

हाम्रो जस्तो समाजले यस्ता घटनालाई लुकाउन नै ठीक ठान्छ । यसरी बलात्कारका घटनालाई लुकाउने प्रवृत्तिका कारण बलात्कारीको मनोबल बढ्ने गर्छ । सामान्यतयाः कुनै व्यक्ति बलात्कार गर्न त्यस समय उत्तेजित हुन्छ, जब उसमा यौन कुण्ठा उत्कर्षमा पुग्छ ।

तर यौन उत्तेजना मेट्ने कुनै उपाय हुँदैन र उ महिलाप्रति जे गरेर हुन्छ बलात्कारको प्रयास गर्छ । वास्तवमा पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण नै बलात्कारको घटना बढिरहेको हो । मानसिक विचलन, अब्सेसन तथा व्यक्तित्व विकारका कारणले पनि मानिस बलात्कारतर्फ उद्दत हुन्छ । बलात्कार कामुकताका कारणले मात्र नभई सामाजिक र ब्यक्ति स्वयम्को मनोविज्ञानबाट प्रेरित हुने घटना हो । त्यस्ता ब्यक्ति आपराधिक मनोबृत्तिका हुन्छन् र हर घटनालाई सहज रुपमा लिन्छन् ।

पछिल्लो समय ‘पोर्नोग्राफी’का कारण पनि समाजमा यौन दुव्र्यवहारका घटना बढेको छ । ‘पोर्नोग्राफी’ पढ्ने तथा हेर्ने व्यक्तिले यौन उत्तेजना मेट्ने सहज माध्यम पाएन भने सामाजिक मर्यादा र कानुनलाई समेत नजरअन्दाज गरी बलात्कारमा उद्दत हुने गरेको पाइएको छ ।

बलात्कारका घटना बढ्नुमा कानुनी दायरा कमजोर भएको विश्लेषण गरिन्छ । कतिपय देशमा बलात्कारीलाई निकै कठोर सजाय र मृत्युदण्डसमेत दिने व्यवस्था छ । नेपालमा भने घटनाको प्रकृति हेरेर जेल सजाय दिइन्छ । तर, पछिल्ला क्रुर घटना हेर्ने हो भने बलात्कारका घटना न्यूनीकरण र अन्त्यका लागि जेल सजाय मात्रै काफी छैन भन्ने प्रष्ट हुँदै गएको छ । तर, ब्यक्ति र समाजको मनोविज्ञान बुझ्न र परिवर्तन गर्न नसक्दासम्म नियन्त्रणका प्रयास भने सार्थक हुने छैन ।

सुक्ष्म रूपमा केलाउँदा बलात्कार समाज, संरचना र संस्कृतिसँग गहिरासँग जोडिएको पाइन्छ । बलात्कारी मनोभाव दह्रो हुनुमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समाजले पीडितलाई नै दोष दिने प्रवृत्ति पनि अर्को मुख्य कारण हो ।

त्यसैले बलात्कारको न्युनिकरणका लागि यौन दुव्र्यवहारको न्यूनीकरण गर्न सबैभन्दा पहिला पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुन जरुरी छ । यसका लागि नागरिक शिक्षा, समाजिक शिक्षा तथा यौन शिक्षा र मनोवैज्ञानिक परामर्श महत्वपुर्ण हुन्छ । किशोरकिशोरीहरुको उमेर अनुसार आवश्यक यौनशिक्षा र जीवनोपयोगी सीप परिवार र विद्यालयबाट उपलब्ध गराउनु पर्दछ ।

परिवारमा बालबालिकाहरुले अभिभावकसँग मनमा लागेका कुराहरु गर्न सक्ने वातावरणको सिर्जना गर्नुपर्दछ । सामाजिक मनोभावनालाई परिवर्तन गर्नु जरुरी छ ।

news24nepal बाट

About Anurag Post

Check Also

रेखाले सविनलाई ज्वाईं साप भन्दै जिस्काइन् | उत्सबलाई दुई जनाले उडाउनु उडाए | Ramailo छ

रेखाले सविनलाई ज्वाईं साप भन्दै जिस्काइन् | उत्सबलाई दुई जनाले उडाउनु उडाए | Ramailo छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *